अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । श्रीलंका बोर्डमाथि सरकारी हस्तक्षेप भएपछि विश्व क्रिकेटको सर्वोच्च संस्थाले यस्तो निर्णय गरेको हो ।
श्रीलंकाको संसद्ले आर्थिक हिनामिनाको आरोप लगाउँदै श्रीलंका क्रिकेट बोर्डलाई राजीनामा दिन दबाब दिएको एक दिनपछि नै आईसीसीले यो निर्णय गरेको हो ।
आईसीसीले भनेको छ, ‘श्रीलंका क्रिकेटमा सदस्यको रूपमा आफ्नो दायित्वको गम्भीर उल्लंघन गरिएको पाइएको छ, विशेष गरी आफ्नो मामिलाहरू स्वायत्त रूपमा व्यवस्थापन गर्ने र सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्ने विषयमा ।’ श्रीलंका क्रिकेटलाई कस्तो खाले निलम्बन गर्ने विषयमा आईसीसीले पछि निर्णय गर्ने जनाएको छ ।
श्रीलंका क्रिकेटमाथि कस्तो किसिमको निलम्बन गरेको केही खुलाइएको छैन, जसका कारण जनवरीमा श्रीलंकाले आयोजना गर्ने यू–१९ विश्वकप पनि अन्योल बनेको छ ।